नेकपा एमालेको विभाजनका बेला एउटा तस्बिर आइकोनिक बनेको थियो । युवा नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्याएको दृष्य फोटोग्राफरले कैद गरेका थिए ।
उक्त तस्बिरको विभिन्न ढंगले व्याख्याहरू भए । झाँक्रीलाई समग्र युवापुस्ताको प्रतिनिधि मानियो, जसले हिम्मतसाथ पुरानो पुस्ताको नेतालाई दिशानिर्देश गरिरहेकी थिइन् ।
आलोचकहरूले चाहिँ नेपाललाई भड्खालोमा हाल्न रामकुमारीले प्रमुख भूमिका खेलेको अर्थमा उक्त तस्बिरलाई व्याख्या गरे । जे भए पनि यो दृश्यमा झाँक्रीको बोल्ड चरित्र नै झल्किएको थियो ।
झाँक्री तत्कालीन एमालेको तेस्रो पुस्ताकी नेता थिइन् । पार्टीमा उनीभन्दा सिनियर कयौँ नेताहरू छन् । तर, दोस्रो पुस्ताको अधिकांश नेताहरूले नेता नेपाललाई विभाजनमा साथ नदिएपछि झाँक्री फ्रन्टलाइनमा आइन् ।
उनी नेकपा एसको ‘कि फिगर’ बनिन् । पुरस्कार स्वरूप नेपालले पहिले पार्टीमा सचिव बनाए भने पछि मन्त्रीमा सिफारिस गरे ।
हिजो हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम यक्ष प्रश्नमा मन्त्री झाँक्रीले आफुले एकीकृत समाजवादीको सदस्यता नलिएको खुलासा गरेकी छिन् ।उनले भनिन्’एकीकृत समाजवादीको सदस्यता छैन, एमाले नै हुँ जस्तो लाग्छ’।
गत असोज २ गते शहरी विकासमन्त्री नियुक्त भएकी थिइन् । शहरी विकास मन्त्रालयमा मन्त्री झाँक्रीको कार्यसम्पादन सन्तोषजनक नै थियो ।
पछिल्लोसमय काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र साहसँग सहकार्य गरेर उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् । तर, यहीबीचमा पदबाट हात धुनुपर्दा उनी मर्माहत बनेकी छन् ।