सामाजिक सञ्जाल टिकटकका कारण विकृति बढेको भन्दै मधेश प्रदेशका युवा टिकटक बन्द गराउने अभियानमा लागेका छन् । युवाले टिकटक पूर्ण रूपमा बन्द हुनुपर्ने माग राख्दै प्रदेशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
महोत्तरीबाट सुरु भएको ज्ञापनपत्र बुझाउने अभियान धनुषा, सिरहा, सप्तरी र रौटहटलगायतका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखलाई बुझाइसकिएको छ ।सम्बन्धित जिल्लाका स्थानीय युवाले अभियानको अगुवाइ गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । टिकटकमा अश्लील गतिविधि बढ्दै गएको उनीहरूको दाबी छ ।
टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नुपर्ने, टिकटक भगाऔँ, आफ्नो संस्कृति बचाऔँको नारा लगाउँदै धनुषा र सिरहामा प्रदर्शन गरिएको छ ।
धार्मिक स्थलमा टिकटक प्रयोगकर्ताले धर्मको उपहास गर्न थालेपछि बन्द गराउने अभियानमा लागेको महोत्तरीका अभिजित दासले बताए ।
थोरै समयमा बढी भ्यु, लाइक, कमेन्ट पाउने लोभमा युवतीहरू अश्लील भोजपुरी, हिन्दी गीतमा नृत्य गरेर टिकटकमा पोस्ट गर्ने, अबेर राति लाइभ आएर युवासँग अश्लिल कुराकानी गर्ने गरेको दाबी उनको छ
“देशका कर्णधार मानिने किशोरकिशोरी र बालबालिकासमेत टिकटकको लतमा फसेर भविष्य बिगार्नेतर्फ अग्रसर भएकाले भारतमा जस्तै यो एपलाई नेपालमा पनि प्रतिबन्ध लगाउनुपर्छ,” धनुषाका शम्भु पण्डितको कथन छ ।