पोखरा महानगरले देशका ६ वटै महानगरका मेयरहरूको सम्मेलन आयोजना गरेको छ।
संघ र प्रदेश सरकारसँग समन्वय गरी महानगरका न्यूनतम मापदण्ड पूरा गराउन साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गरेको जनाएको छ।
पोखरा यही साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी गर्नेछ। महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ शीर्षकमा मुख्य प्रस्तुती दिनेछन्।
कार्यक्रममा ६ वटै महानगरका मेयरले आ-आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीका विषयमा अनुभव आदान– प्रदान गर्नेछन्।
यस्तै अहिलेका ऐन कानुन र कार्यान्वयनका चुनौती, महानगरका साझा सवाल, महानगरका पूर्वाधार विकास तथा सुशासन, हरित उत्थानशील तथा समावेशी विकासका अपरिहार्यता, सम्भावना र चुनौती, महानगरका आगामी दिशा लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग अन्तक्रिया गर्ने महानगरले जनाएको छ।मेयर सम्मेलनका आयोजक पोखरा महानगरका मेयर धनराज आचार्यले संघ र प्रदेश सरकारलाई महानगरका साझा समस्या सामुहिक रूपमा राख्न सम्मेलन आयोजना गरेको बताए।
‘संघ र प्रदेशबाट कतिपय कानुन बन्न बाँकी छ, यसले हामीलाई काम गर्न अस्पष्टता भएको छ,’ उनले भने, ‘छलफलबाट आएको निष्कर्ष साझा रुपमा उठाऔं भनेर सम्मेलन आयोजना गरेका हौं।’
नेपालमा काठमाडौं, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र विरगञ्ज गरी ६ वटा महानगरपालिका छन्।
मेयर आचार्यले ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत पोखरा सम्मेलनमा आउने सुनिश्चित भएको बताए।