करोडौ खर्च गरिएकाे गौतमबुद्ध रङ्गशाला अलपत्र, सहयोग उठाएको रकम झ्वाम

चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको छ । रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सङ्कटका कारण काम गर्न नसकेको बताउँदै निर्माणबाट अलग भएपछि रङ्गशाला अलपत्र बनेको हो ।

जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको ११ महिना भएको छ । अलपत्र अवस्थामा पुग्दा बनेको संरचना पनि बिग्रन थालेका छन् ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रङ्गशाला बनाउने घोषणा गर्नुभएको थियो । उहाँहरूले २०७५ साल माघ १६ देखि रङ्गशाला निर्माणको काम सुरू गर्नुभएको थियो । रङ्गशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको थियो । ३० हजार जनाको क्षमताको हुने रङ्गशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको थियो  । प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’ को पिलर उठाइ सकेर बिम ढलान भएको छ । आठ वटा पिच बन्न बाँकी थिए । दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणको चरणबाट बाहिरिएको हो ।

फाउन्डेसनले हात झिकेपछि महानगरले त्यसको औपचारिक स्वामित्व लिएको छैन । सरकारले रङ्गशाला निर्माणको लागि बजेट छुट्याएको भए पनि कसकाे नेतृत्वमा कसले कसरी काम गर्ने भन्ने टुङ्गो लागेको छैन।

लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दुबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ । बनेको संरचनाका पिलरका फलाममा खिया लाग्न सुरु भएको छ । रङ्गशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रँदो अवस्थामा छन् ।

प्यारापिट बनाउनका लागि ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड खिया लागेर बिग्रँदै गएका छन् ।

रङ्गशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । महानगरले रङ्गशालाको स्वतन्त्र लेखा परीक्षण गरिसकेको छ । नेपाल सरकारले यस आर्थिक वर्षको बजेटमा रङ्गशाला निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याएको छ ।उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको थियो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार आर्थिक सङ्कट बढेका कारण रङ्गशाला निर्माणको काम रोक्नुपरेको हो । जनस्तरबाट रकम उठ्ने सम्भावना कम भएको र सरकारले आवश्यकता अनुसारको रकम उपलब्ध नगराएको कारण निर्माणका लागि आर्थिक सङ्कट भएको बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *