के भयो झाक्री र माधव नेपाल बिच ? सनसनी पूर्ण खुलासा

२२ साउन, काठमाडौं । तीन दिनअघि स्नेहलता श्रेष्ठको सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा माधव नेपाल र रामकुमारी झाँक्रीको जम्काभेट भयो ।

उनीहरुबीच सल्लाह गरेर भेट नभएको धेरै भइसकेको थियो । एउटै मञ्चमा बसे पनि उनीहरु कानेखुसीसम्म गरेनन् । भाषण गरेर नेपाल हिँडिहाले । त्यसपछि झाँक्रीलाई कार्यक्रममा बोल्ने इच्छा भएन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले झाँक्रीलाई राजनीतिक करिअरकै पहिलोपल्ट मन्त्री अफर गरे । एमालेका कतिपय नेताले साथ दिन्छु भनेर पछि हट्दा नेपाललाई साथ दिने थोरै युवा नेतामा झाँक्री एक थिइन् ।

नेपाल १५ वर्षपछि सानै पार्टीको भए पनि अध्यक्ष बने । झाँक्री सचिव बनिन् । नयाँ खुल्दै गरेको दलप्रति एक वर्षअघिसम्म नेपाल र झाँक्री दुवै उत्साही थिए । आज उनीहरुबीचको सम्बन्ध फिका बन्दैछ । अनि नयाँ पार्टी बनाइछाड्ने उत्साह पनि विस्तारै मर्दै छ ।

नयाँ दल दर्ता गर्न अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगतर्फ हात समाएर लैजाँदै गरेको दृश्य त्यति पुरानो भइसकेको छैन, जतिबेला उनले पार्टीभित्र सबैको स्नेह पाएकी थिइन् ।

तिनै रामकुमारी पार्टीभित्र अहिले सबैको तारोमा परेकी छिन् । अध्यक्ष माधव नेपालसँग सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउनुको आधार र कारण माग्दा एकीकृत समाजवादीकै भ्रातृ संस्थाका नेताहरुले झाँक्रीलाई कारबाहीको माग गरेका थिए ।

रौतहटको गौरमा गएर हालै अध्यक्ष नेपालले गरेको शिलान्यासप्रति गरेको टिप्पणीले पार्टीमा फेरि झाँक्री आलोचनाको केन्द्र बनेकी छिन् ।

प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा झाँक्रीले नेपालले गरेको शिलान्यासलाई हचुवाको भरमा गरेको भनेर टिप्प्णी गरेकी थिइन् । ‘उहाँले हिजो गौरमा गएर गरेको शिलान्यासमा न कार्यक्रम छ, न बजेट छ, न स्रोत सुनिश्चित छ,’ उनको टिप्पणी थियो, ‘न टेन्डर आह्वान भएको छ।’

झाँक्रीको उक्त टिप्पणीको सहरी विकास मन्त्रालयलयले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ । एकीकृत समाजवादीका कार्यकर्ताहरुले उक्त विज्ञप्तिलाई शेयर गर्दै अध्यक्षविरुद्ध लागेको भनेर झाँक्री लक्षित आक्रामक टिप्पणी गरिरहेका छन् ।

झाँक्रीले आफ्नो बचाउ गरेकी छिन् । ‘हिजो क. ओलीबाट १६५ रणनीति सडक, करिब ३९६ स्वास्थ्य चौकी, करिब ४०० पालिका केन्द्र जोड्ने सडक हावामा बिना कार्यक्रम, बिना स्रोत, बिना साइट शिलान्यास गरिएको थियो,’ फेसबुकमार्फत दिएको स्पष्टीकरणमा उनले भनेकी छिन्, ‘हामीले प्रश्न गरेका थियौं, चर्को आलोचना गरेका थियौं कि ती योजना कहाँ छन् भनेर ? आज अरूले हामीलाई यही भन्दैछन् । यसो नगरौं मात्र भनेको हो ।

सतहमा नदेखिए पनि सरकारमा गएदेखि नै माधव नेपाल र रामकुमारी झाँक्रीको सम्बन्ध चिसिँदै गएको हो । सार्वजनिक कार्यक्रममा नेपालले लोकप्रिय काम गरेको भन्दै तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रशंसा गर्दा रामकुमारीहरुको नाम नै लिँदैनथे । मन्त्रीहरु फिर्ता बोलाउने आफ्नो निर्णयको विपक्षमा उभिएपछि भने रामकुमारीसँग माधव नेपाल झन् रुष्ट बनेका थिए ।

मन्त्रीबाट राजीनामा दिएको झण्डै एक महिना बितिसक्दा पनि माधव नेपाल र रामकुमारीको प्रत्यक्ष भेट भएको छैन । उनी अहिलेसम्म अध्यक्ष निवास छिरेकी छैनन् ।

नेकपाकालीन संघर्षमा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धका तिखा टिप्पणीका कारण एमालेमै रहन उनलाई असहज भएकाले नेपाललाई अन्तिम समयसम्म पनि साथ दिनु बाध्यता भएको भनाइ केहीको छ ।

अहिलेसम्म निवासमा किन जानु भएन भन्ने अनलाइनखबरको प्रश्नमा झाँक्रीले भनिन्, ‘उहाँले बोलाउनु पनि भएको छैन । मेरो काम पनि परेको छैन । मन्त्री भएको बखत रिपोर्टिङ गर्न, ब्रिफिङ गर्न जानुपर्ने मेरो दायित्व हुन्थ्यो । मन्त्री नहुँदा पनि केही न केही ब्रिफिङ गर्न उहाँकहाँ जानुपर्ने हुन्थ्यो । अहिले पार्टीको सचिव छु, तर मलाई तोकिएको जिम्मेवारी छैन । त्यसैले मैले रिपोर्टिङ पनि गर्नु परेन ।’

झट्ट सुन्दा झाँक्रीको जवाफ तर्कसंगत लागे पनि यसभित्र माधव नेपाल र उनीबीच मनोमालिन्यको बीज हुर्कदो क्रममा रहेको बुझ्न कत्ति गाह्रो छैन । आक्कल, झुक्कल सार्वजनिक स्थानमा हुने भेटमा पनि अध्यक्ष नेपालले पनि उनीसँग खासै संवाद गर्दैनन्, झाँक्री पनि खुल्दिनन् । एकीकृत समाजवादीका कतिपय नेताहरु झाँक्रीको अध्यक्षप्रतिको शालिन विद्रोहलाई सस्तो लोकप्रियताका लागि गरेको टिप्पणी गर्छन ।

‘उहाँ के गर्दा चर्चामा आइन्छ, त्यसको पछि लाग्नु भएको छ’, एक नेताले अनलाइनखबरसँग भने, ‘तर, नेतृत्वसँग ‘टसल’ गरेर उहाँलाई पनि खासै फाइदा गर्दैन ।’

एउटै दलको पदाधिकारी भए पनि नेपाल र झाँक्रीबीचको सम्बन्धमा उतारचढाव आउन थालेको भर्खरै भने होइन । यसको लामै कथा छ । झाँक्री एमालेको आठौं महाधिवेशनताका झलनाथ खनाल समूहमा थिइन्, जतिबेला उनी पार्टीनिकट अनेरास्ववियूको नेतृत्व तहमा पुगेकी थिइन् । बुटवलमा भएको आठौं महाधिवेशन (२०६५ फागुन ५–१४)बाट खनाल एमालेको अध्यक्ष निर्वाचित भएका थिए ।

काठमाडौंमा भएको नवौं महाधिवेशन (२०७१ असार १९– १ साउन) मा खनाल तटस्थ बसे । तर, उनका धेरै मान्छे माधव नेपालतिर लागेका थिए । सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई लगायतलाई माधव नेपाललाई साथ दिएका थिए । झाँक्री पनि आफू भन्दा वरिष्ठ नेताहरुसँगै ‘नेपाल क्याम्पतिर’ लागेकी थिइन् ।

त्यो साथ तत्कालीन नेकपा कालको संघर्षमा पनि माधव नेपाललाई रह्यो । तत्कालीन प्रचण्ड–माधव खेमामा उभिएर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अरु नेताहरुसहित झाँक्री पनि उभिइन् ।

अन्तिम समयसम्म नेपाललाई साथ दिएका पाण्डे, भूसाल, भट्टराई लगायतका १० नेताहरु एमाले विभाजनमा भने सहमत भएनन् । झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहास गरेका थिए ।

‘जुन प्रश्न हामीले ओलीमाथि गरेर आयौं, त्यो प्रश्न माधव कमरेडलाई पनि हुन्छ, त्यो सबैलाई हुन्छ र त्यो स्वयं मलाई पनि हुन्छ’ रामकुमारी भन्छिन् ।
आफू निरन्तर संवादमा रहने भूसाल र भट्टराई लगायतका नेताहरु एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् । नेकपाकालीन संघर्षमा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धका तिखा टिप्पणीका कारण एमालेमै रहन उनलाई असहज भएकाले नेपाललाई अन्तिम समयसम्म पनि साथ दिनु बाध्यता भएको भनाइ केहीको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा भण्डारीविरुद्ध गरेको टिप्पणीले झाँक्री पक्राउ परेकी थिइन् । आफू भन्दा पनि राष्ट्रपतिप्रति गरेको टिप्पणीले झाँक्रीप्रति ओली निकै क्रुद्ध भएकाले पनि उनले एमालेमा असहज हुने ठानेकी हुनसक्छ । ओलीले सार्वजनिक रुपमै झाँक्रीको पटक–पटक कडा आलोचना गर्ने गरेका छन् ।

जहाँ माधवविरुद्ध उभिइन्

माधव नेपाल लामो समय नेकपा एमालेको नेतृत्वमा रहे । त्यसलै उनी पार्टीको संस्थापन पक्ष भए धेरै समय । महाकाली सन्धिका कारण २०५४ मा एमाले विभाजित भयो, जति बेला नेपाल महासचिव थिए ।

एमाले छाडेर मालेतिर जानेहरुले महाकाली सन्धिको कित्तामा उभिएका नेताहरुलाई राष्ट्रघाती करार गरेका थिए । अधिकांश शीष नेताहरु मालेतिरै गएपछि झाँक्री पनि उतै गएकी थिइन् ।

एमालेमै फर्किएपछि पनि रामकुमारीलाई अनेरास्ववियुमा केही जिम्मेवारी दिइएको थिएन । नेपाल नेतृत्वमा यथावत थिए। त्यसपछि उनी केही समय पत्रकाररितामा पनि लागेकी थिइन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको कुविरुद्ध सक्रिय रुपमा लागेपछि मात्रै २०६२/०६३ पछि झाँक्रीको उदय भएको थियो । उनी त्यतिबेला जनआन्दोलनकी ‘पोष्टर गर्ल’का रुपमा स्थापित भएकी थिइन् ।

त्यसपछि २०६५ मा भएको अनेरास्ववियूको राष्ट्रिय सम्मेलनमा माधव नेपाल निकट उम्मेदवारलाई नै पराजित गरेकी थिइन् । हाल ओली पक्षतिर लागेका गोकुल घर्ती माधव नेपालको उम्मेदवारका रुपमा प्रतिस्पर्धामा आएका थिए भने झाँक्रीलाई खनाल पक्षका नेताहरुको साथ थियो । घर्तीलाई पराजित गरेपछि उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी थिइन् ।

सानै पार्टीको भए पनि माधव नेपाल फेरि पनि संस्थापन तहमा छन् । झाँक्रीले भने नेपालको कार्यशैलीमै समेत आफ्नो असहमति रहेको भन्दै प्रश्नबाट उम्किन नपाइने बताउँछिन् । ‘जुन प्रश्न हामीले ओलीमाथि गरेर आयौं, त्यो प्रश्न माधव कमरेडलाई पनि हुन्छ,’ झाँक्रीको भनाइ छ, ‘त्यो सबैलाई हुन्छ र त्यो स्वयं मलाई पनि हुन्छ ।’

लामो समय रामकुमारीसँगै रहेकी एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना आफूहरु सधैं संस्थापनविरुद्ध उभिएको बताउँछिन् । ‘रामकुमारी दिदीले गर्नुभएको तमाम प्रश्नप्रति मेरो सर्मथन छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘सँगै रहँदा पनि हामीले निरन्तर संस्थापनप्रति प्रश्न गर्दै आएका हौं ।’

नेतृत्वविरुद्ध प्रश्न गरिरहेकी झाँक्री व्यक्तिगत रुपमा पार्टी नै छाड्ने कुरालाई सिधै अस्वीकार गर्छिन् । चन्द्रागिरिमा बसेको एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठकमै झाँक्रीले यो पार्टी नबन्ने अनौपचारिक अभिव्यक्ति दिएकी थिइन् ।

खासगरि अध्यक्ष नेपालले नेतृत्व तहमा पुराना र थकित नेताहरुलाई बढ्ता स्थान दिएकोमा उनको असन्तुष्टि थियो । व्यक्तिगत रुपमा नकारे पनि सामूहिक रुपमा भविष्यमा एमालेमा जाने सकिने कुरालाई भने झाँक्रीले खुल्लै राखेकी छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *