देशको बिग्रँदो परिस्थिति। स्वार्थमा लिप्त राजनीति। दिनप्रतिदिन बढेको बेरोजगारी समस्या। ओछ्यानबाट पूर्ण चन्द्रमा देखिने घर। आमाको फाटेको चोली। बाबाको उध्रेको टोपी। भाइबहिनीहरूको मलिन अनुहार। असल समाज र स्वाभिमानी राष्ट्रको परिकल्पना।
जवानीवयका रंगीन सपनालाई तिलाञ्जली दिएर हरियो पासपोर्टमा जवानी धितो राख्दै प्रवासिएको वर्षौ बितेछ। निरन्तर स्रोह/सत्र घन्टा काम। थाकेको शरीर दुखेको मन लिएर कोठामा फर्कंदा आफू कुन एङ्गलबाट जिउँदो छु भन्ने सोच्न बाध्य हुन्छु। हाय ! कस्तो नर्कमय जिन्दगी ! न प्रेम, न आशीर्वाद। यही चिसो सिरानीसँग परिचित छु, वर्षौदेखि।
कहिलेकाहीँ मध्यरातमा झस्किन्छु। उठेर टाढा देखिने बादलका थुम्काहरू नियाल्छु। कतातिर पर्छ होला मेरो घर ? सोच्दासोच्दै रात बित्छ। उज्यालो भएपछि चराचुरूङ्गीको चिरविर आवाज सुन्छु। लाग्छ, यिनीहरू मलाई स्पर्श गरेर मेरो घरसम्म पुगूँन् र मेरी आमालाई मेरा सुखद समाचार सुनाइदिऊन्।
म हरेक रात चिसो सिरानीसँग निदाउँछु। भित्री मनमा घरपरिवारलाई न्यानो राख्ने सपना अझै जीवित छन्। एक साँझ कोरियामा बेस्सरी झरी पर्यो।
झ्यालबाट हेर्दा टाढाटाढासम्म सेतै फुलेका साँकुराका फूलहरू देखिन्थे। म तिनै फूलहरू नियाल्दै आफ्नो नियति सम्झन्थें। फूलका पत्रपत्रबाट तप्प खसेको पानीमा सबै मोहित हुन्थे। हरेक दिन परायाभूमिमा आफ्नो निधारबाट तप्प खसेको पसिनामा मेरो देश र राष्ट्रियता चस्स दुख्थ्यो।