बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए।
केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाण्डूबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले।
अधिकांश समय टिकटकमार्फत् प्रत्यक्ष प्रसारणमा देखिने उनी आफू तीनदेखि चार घण्टा मात्र निदाउने गरेको सुनाउँछन्।
“म सबै थोक छोडेर टिकटकमा लाग्नुको कारण छ। मैले त्यहाँबाट आफ्नो मात्र होइन परिवारको पनि सपना पूरा गरिरहेको छु,” अंशले बीबीसीसँगको कुराकानीमा भने।