यो साता ‘अन्नपूर्ण सम्पूर्ण’ले २५ वर्ष कटेका एक सयभन्दा बढी युवायुवतीसँग विवाहको विषयमा एउटा सर्वेक्षण गरेको छ।
कुराकानीका क्रममा अधिकांशले बिहेलाई ‘बर्बादी’को संज्ञा दिएका छन्। उमेर पुगेका युवायुवतीमा बिहेप्रतिको वितृष्णालाई यसपालिको ‘सम्पूर्ण’मा समेटिएको छ।
करिअर फस्ट – काठमाडौँ, कीर्तिपुर बस्ने रोशन सिग्देल (२८) जुनसुकै क्षेत्रमा भए पनि आफूलाई स्थापित गरेर मात्रै विवाह गर्ने सोचमा छन्। ‘बिहे भनेको चानचुने कुरा होइन,’
उनले भने, ‘आफूलाई स्थापित नगराई बिहे गर्दा बिहेपछि आउने जिम्मेवारी वहन गर्न सकिँदैन।’ बिहेको विषयलाई लिएर समाज र परिवारको सोचमा परिवर्तन आएको उनले बताए।
‘अहिले समाज खुला भएको छ,’ उनले भने, ‘धेरै आमाबाबुले बिहेको प्रेसर दिन छाडिसके। बिहे आफ्नो मर्जीअनुसार गर्ने हो भन्ने कुरा सबैले बुझिसके।’
काठमाडौँ, डिल्लीबजारकी सिसम पोखरेल (२८) ले पनि अहिले नै बिहेका लागि हतार नभएको बताइन्। ‘अहिले नै बिहेको के हतार ?’ उनले भनिन्, ‘जबसम्म आफ्नो करिअर बलियो बनाउँदिनँ, तबसम्म बिहेबारे सोच्दा पनि सोच्दिनँ।’
साथीहरूको बिहे भएको देखेर उनलाई कहिलेकाहीँ बिहे गरौँ कि भन्ने पनि लाग्छ।
‘तर, पछि उनीहरूले दुःख पाएको र बन्धनमा परेको देख्दा सिंगल लाइफ नै ठीक भन्ने लाग्छ,’ उनले भनिन्, ‘बिहे भनेको अरूको देखेर, करकापमा परेर होइन, आफू सक्षम भएपछि पो गर्नुपर्छ।’