एकढिक्का रहने सिद्धान्त बोकेको हिन्दुजा ग्रुप टुक्रिँदै, परिवारिक संघर्षले छिन्नभिन्न

मंग्सिर २, २०७९ शुक्रबार 55

एकढिक्का रहने सिद्धान्त बोकेको हिन्दुजा ग्रुप टुक्रिँदै, परिवारिक संघर्षले छिन्नभिन्न

‘एकको नाममा भएको सम्पत्ति सबैको हुने’ अर्थात ‘जो एकको त्यो सबैको’ भन्ने व्यापार सिद्धान्त पछ्याएको भनेर हिन्दुजा ग्रुपलाई धेरै व्यापारिक घरानाले आदर्श मान्ने गरेका थिए। वर्षौसम्म यस घरानामा दोस्रो पुस्ताका चार दाजुभाइले व्यापारमा सबै कुरा साझा भएको सन्देश समेत दिइरहे। तर विस्तारै बेलायत, जेनेभा र मुम्बईमा एक शताब्दीदेखि व्यापारिक विरासत बनाएको धनाढ्य परिवार भित्रभित्रै छिन्नभिन्न हुने अवस्थामा पुग्यो। लामो समय लण्डन उच्च अदालतमा पारिवारिक सम्पत्ति विवादलाई लिएर मुद्दा चलिरह्यो।

 

गत शुक्रबारमात्रै लण्डनस्थित उच्च अदालतमा हिन्दुजा ब्रदर्सको पारिवारिक विवाद हालका लागि बिराम गर्ने सहमतिमा पुगेको सार्वजनिक भएको छ। ग्रुपका प्रवक्ताले नै हाल अदालतमा विवाद समाधानका लागि गोप्य सहमति भएको जानकारी दिएका छन्। एक आदर्श मानिएको घरानाभित्रको वर्षौ चलेको सम्पत्तिको कलहको विषयमा अल्पकालीन समझदारी त बन्यो तर हिन्दुजा दाजुभाईबीचको ‘सद्‍भाव’ र ‘संयुक्त सम्पत्तिको अवधारणा’ कुन दिनसम्म टिक्ने हो भन्ने प्रश्न पनि उजागर भएको छ।

 

हिन्दुजा परिवारमा दोस्रो पुस्ताका सबैभन्दा जेठा दाजु तथा व्यापारिक मुली मानिएका श्रीचन्द हिन्दुजा यतिबेला डिमेन्सियाबाट ग्रस्त छन्। ८६ वर्षका श्रीचन्द डिमेन्सियाग्रस्त भएसँगै उत्पन्न परिस्थितिहरुका कारण हिन्दुजा परिवारको पारिवारिक एकता पनि भत्किएको छ। परिवारमा काकाहरु, भाइभतिजा, भतिजीहरु, नाति नातिना र निकट परिवारजनहरुबीचको सम्बन्ध तथा व्यापारिक सिद्धान्तपनि धर्मराएको छ।

 

गत वर्षसम्म सुविधासम्पन्न प्राइभेट अस्पतालमा उपचार गराइरहेका श्रीचन्दको उपचार अचानक सरकारी अस्पतालमा हुन लाग्यो। संयुक्त रुपमा १४ अर्ब डलरको पारिवारिक सम्पत्ति भएको हिन्दुजा ग्रुपका सबैभन्दा जेठा छोरा श्रीचन्दलाई प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सारिनुबारे उनका वकिलहरुले समेत कुरा उठाए। तर श्रीचन्दका भाइ गोपीचन्दले भने यसलाई अस्वीकार गर्दै दाजुको उपचारका लागि ग्रुपका तर्फबाट ५९ लाख डलर उपलब्ध गराएको दाबी गरे।

 

गत शुक्रबार भएको अदालती प्रक्रियापछि परिवारभित्रको लामो समयदेखिको विवादमा अल्पकालीन सहमति भएको भनिए पनि लामो समयदेखि चलिरहेको विवादलाई फेरि एकपटक सतहमा ल्याएको हो। यसले ४० देशमा व्यापार फैलिएको र झण्डै २ लाख कर्मचारी रहेको एक विशाल ब्रिटिस इन्डियन एम्पायरको भविष्यलाई नै दाउमा राख्दै परिवारभित्र विवाद रहेको पुष्टि भएको छ।

 

हिन्दुजा कम्पनीको भारतमा मात्रै ६ वटा सूचीकृत कम्पनीहरु छन्। यसको बेलायत र स्विट्जरल्याण्डमा पनि ठूलो व्यापारिक कारोबार छ। यस ग्रुप अन्तर्गत अशोक लेल्याण्ड लिमिटेड पनि पर्छ, जुन विश्वकै तेस्रो ठूलो बस तथा ट्रक निर्माता कम्पनी पनि हो। ग्रुप अन्तर्गत भारतकै ठूलो मध्येमा पर्ने प्राइभेट बैंकसमेत छ।

प्रतिकृया दिनुहोस्