अम्बे स्टिल्सको कारोबार एकै वर्ष करिब ११ अर्ब, कुल आम्दानीको ८२ प्रतिशत हिस्सा डन्डी बिक्रीबाट

मंग्सिर २, २०७९ शुक्रबार 22

अम्बे स्टिल्सको कारोबार एकै वर्ष करिब ११ अर्ब, कुल आम्दानीको ८२ प्रतिशत हिस्सा डन्डी बिक्रीबाट

देशकै ठूलोमध्येको एक अम्बे स्टिल्सले २०२१/२२ मा १० अर्ब ९३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अघिल्लो वर्ष २०२०/२१ को तुलनामा अम्बेको व्यापार बढेको छ।२०२०/२१ मा अम्बेले ९ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा ६ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र २०१८/१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।

 

अम्बेले कुल आम्दानीको ८२ प्रतिशत डन्डी (टीएमटी बार) बिक्रीबाट आर्जन गरेको छ। पछिल्लो समय डलरको भाउमा भएको वृद्धि, लगानी योग्य पुँजीको अभाव, डन्डीको मागमा अत्यधिक गिरावटका कारण कम्पनीको वित्तीय स्वास्थ्यमा केही असर पर्न सक्ने विश्लेषण इक्रा नेपालको छ।

 

कम्पनीले अम्बे स्टिलको ब्राण्डमा टीएमटी बार, बाइन्डिङ वायर र जीआइ वायर उत्पादन गर्छ। टीएमटी उत्पादनलाई आवश्यक बिलेट पनि कम्पनीले बनाउँछ।

 

अम्बेले मुख्य कच्चा पदार्थको रुपमा आइरन बिलेट, पिग आइरन, स्पन्ज आइरन भारतबाट आयात गर्दै आएको छ। बजार विस्तारमा आक्रामक अम्बेले गतवर्ष मात्रै ८ अर्ब ३२ करोड बराबरको कच्चा पदार्थ आयात गरेको थियो।

 

अम्बेसँग अहिले वार्षिक ८० हजार टन बिलेट उत्पादन गर्न सक्ने क्षमता छ। कम्पनीले आफैंले पनि आइरन बिलेट इन-हाउस उत्पादन गर्छ। कुल आवश्यकताको ५० देखि ६० प्रतिशत आइरन बिलेटको हिस्सा अम्बे आफैंले उत्पादन गर्छ। यसका बाबजुद अम्बेले अतिरिक्त वार्षिक ४५ हजार टन बिलेट उत्पादन गर्ने गरी क्षमता विस्तार गरिरहेको छ।

 

उक्त मेल्टिङ प्लान्टको क्षमता विस्तार गर्ने काम २०२३/२४ सम्ममा सकेर संचालनमा ल्याउने तयारी कम्पनीको छ। कम्पनीले क्षमता विस्तारलाई आवश्यक बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। आफ्नै मेल्टिङ प्लान्ट हुँदा भारत तर्फ भर पर्नुनर्पेन र डन्डी उत्पादनको लागत समेत घट्ने कम्पनीले जनाएको छ।

 

भैरहवामा उत्पादन प्लान्ट रहेको अम्बे स्टिल्समा न्यौपाने र अग्रवाल समूहको लगानी छ। शोभाकर न्यौपानेको ६० प्रतिशत स्वामित्व छ भने अग्रवाल परिवारबाट रमेश कुमार अग्रवाल र सज्जन कुमार अग्रवालको २५ प्रतिशत स्वामित्व छ। बाँकी १५ प्रतिशत स्वामित्व भने पूर्ण बहादुर पौडेलसँग छ।

 

कम्पनीले ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ बैकिंङ कर्जाका लागि ऋण लिँदैछ।

प्रतिकृया दिनुहोस्