अब ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री

मंग्सिर ६, २०७९ मंगलबार 175

अब ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री

देशभरको मत परिणाम आउने क्रम जारी छ। अबको राजनीतिक शक्ति संरचना कस्तो बन्छ भन्ने लगभग स्पष्ट भइसकेको छ। गठबन्धनका बाबजुद कांग्रेसले अपेक्षित शक्ति बढाउन सक्ने देखिएको छ भने एमाले र माओवादीले पनि केही गुमाउने संकेत देखापरिसकेका छन्।

 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देशको तेस्रो ठूलो शक्ति बनेर उदाउँदै छ। लामिछानेकै विचारसँग मिल्ने पूर्वपञ्चहरुको दल राप्रपाले गतिलै पुनरागमन गर्दै छ। २०७४ सालको आम निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३.२५ प्रतिशत मत ल्याएर ४१ सिट प्रत्यक्षमा पाएको थियो भने कांग्रेसले ३२.७८ प्रतिशत मत ल्याएर ४० सिट पाएको थियो।

 

माओवादीले १४ प्रतिशत मत ल्याउँदा १७ सिट हात पारेको थियो। एमालेसँगको गठबन्धन उसलाई निकै फापेको थियो। प्रत्यक्षमा कांग्रेसभन्दा बढी सिट ल्याएर ५३ सांसदसहित संसदमा उसको बलियो उपस्थिति भएको थियो। कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर जम्मा ६३ सदस्यीय दल बनेको थियो। जबकि एमालेले प्रत्यक्षमा ८० सिट जितेर १ सय २१ सांसदसहित संसदको झण्डै बहुमतनजिकको पार्टी बन्न पुगेको थियो। उसलाई बहुमत पुर्‍याउन जम्मा १७ सिट अपुग हुन्थ्यो र त्यो संख्या राजपा वा संघीय समाजवादीमध्ये कुनै एकसँग मात्र मिल्दा पुग्थ्यो।

 

तर सत्ताबाट एक इन्च पनि पर बस्न नसक्ने लत लागिसकेका प्रचण्डले ओलीको ओत छाड्ने कुरै थिएन। त्यसमाथि ओलीको स्वास्थ्य कमजोर बन्दै गएको आकलन गरी उनले पार्टी नै मिलाएर आफूसमेत अध्यक्ष बन्ने रणनीतिमा फाइदा देखे। दुई अध्यक्ष भएको पार्टीमा ओलीको स्वास्थ्य खस्किँदै जाँदा आफू निर्विकल्प अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना प्रचण्डले देखेका थिए। ओलीको स्वास्थ्य चामत्कारिक रुपमा सुधार हुँदै गएपछि प्रचण्डको छटपटाहट बढ्यो। एमालेभित्रैका असन्तुष्ट नेताहरुको साथ लिएर ओलीविरुद्ध कू गर्ने प्रयासमा लागे। अन्ततः कू असफल भयो। अदालतले पार्टी एकता नै बदर गरिदियो र प्रचण्ड आफै अलग्गिन बाध्य भए।

 

त्यसपछि प्रचण्ड शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतिर धाउन थाले। सत्ताको रसस्वादनका लागि उनको यो कसरत फलदायी भयो। गएको स्थानीय तह निर्वाचनमा गठबन्धनबाट गणितीय लाभ लिन सफल भए। तर आम निर्वाचनमा कांग्रेस नेता तथा कार्यकर्ताले माओ‌वादीलाई छानीछानी बहिष्कार गरे। कांग्रेस, माओवादीसहित सत्ता राजनीतिमा यसअघि ढलीमली गरेका सबैजसो दलको मत खोसेर संसदमा तेस्रो ठूलो शक्ति बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुँदै छ। उसले अहिलेकै दर कायम राखी १५ प्रतिशत मत सुरक्षित गरेमा करिब १७ सिट समानुपातिकबाट पाउनेछ।

 

हालसमम्म उसले अग्रता लिएका १० वटै सिट प्रत्यक्षबाट जितेमा २७ सिटसहित संसदको तेस्रो ठूलो शक्ति अब स्वतन्त्र पार्टी हुनेछ। यस्तै पूर्वपञ्चहरुको दल राप्रपाले पनि यसपालि राम्रैसँग पुनरागमन गर्ने देखिएको छ। राप्रपाले प्रत्यक्षबाट ५ र समानुपातिकबाट १० सिट ल्याए पनि संसदमा उसका १५ सांसद हुनेछन्।

 

माओवादीले समानुपातिकबाट १३ र प्रत्यक्षबाट पनि बढीमा त्यति नै सिट ल्याउन सक्छ। सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका १० सांसद पनि संसदमा पुग्न मुस्किल छ। किनभने उसले समानुपातिकमा ३ प्रतिशत मत कटाएर समानुपातिकतर्फबाट संसदमा सिट पाउने सम्भावना क्षीण बनेको छ। प्रत्यक्षतर्फ ९ सिटमा अग्रता हासिल गरिरहेको छ।

 

समानुपातिकबाट स्वतन्त्र पार्टी, राप्रपा र माओवादी गरी यी ३ वटा पार्टीको भागमा ४० सिट परेमा बाँकी ७० सिट रहन्छन् । यी सिट एमाले र कांग्रेसले आधाआधा बाँड्नेछन् । यसरी हेर्दा समानुपातिकमा कांग्रेस र एमालेले गत वर्षभन्दा ५-५ सिट गुमाएर ३५-३५ सिट पाउने देखिन्छ। यो सबै हिसाब गर्दा कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग मात्र मिलेर सरकार गठन गर्ने हैसियत बनाउन मुस्किल छ। यी तीन दल मिलेर सरकार बनाउनका लागि कांग्रेसले प्रत्यक्षमा मात्र ६७ जित्नुपर्ने हुन्छ। अहिलेको प्रवृत्ति हेर्दा उसले प्रत्यक्षमा ६० सिट जित्न पनि कठिन छ। अब अर्को समीकरण हेरौँ।

 

कांग्रेसले पाँच दलसँग गरेको गठबन्धन र एमालेले एक्लै लडेर ल्याएको प्रदर्शन हेर्ने हो भने अहिले पनि यो देशमा सबैभन्दा बलियो शक्ति एमाले नै हो भन्नेमा कुनै दुविधा छैन। प्रत्यक्षमा उसले लिएको अग्रता कांग्रेसको भन्दा धेरै अन्तर छैन। कांग्रेसले ६० सिट जित्दा एमालेले ५० सिट सजिलै जित्ने देखिन्छ। समानुपातिकसमेत जोड्दा कांग्रेसकै हाराहारीको शक्ति बन्छ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कांग्रेस र माओवादीलाई सत्ताबाहिर राख्न रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्नेछन्। यति भएपछि लामिछानेको महत्त्वाकांक्षाका लागि अरु के चाहियो र? एमाले, स्वतन्त्र पार्टी, राप्रपा, लौरो अभियान र अरु केही गैरदलीय सांसदलाई साथ लिएर लामिछाने सरकार बनाउन सक्नेछन्। यसमा जसपासमेत मिसिँदा सरकार बनाउनका लागि एउटा सहज गठबन्धन बन्न सक्नेछ।

 

एउटै दलको बहुमत आउन नसक्दा प्रायः दोस्रो र तेस्रो शक्ति मिलेर सरकार बनाउने स्थापित प्रचलन पनि छ। त्यसकारण पनि रवि लामिछाने स्वाभाविकरुपमा प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने देखिन्छ। अझ एमाले अध्यक्ष ओली केही समययता युवालाई प्रभावित पार्न लागिपरेका कारण पनि सके लामिछानेलाई आफ्नै पार्टीमा भित्र्याउनेछन्, त्यो नभए रणनीतिक साझेदारीका लागि हात बढाउनेछन्। तसर्थ अबको सरकार रवि लामिछानेको सरकार हुनेछ। जुन जनताले चाहेको परिवर्तन वा नयाँपनलाई पनि सम्बोधन गर्नेछ।

प्रतिकृया दिनुहोस्