अब प्रधानमन्त्री हुन्छु : नेता प्रकाशमान सिंह

मंग्सिर ६, २०७९ मंगलबार 59

अब प्रधानमन्त्री हुन्छु : नेता प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् ।उनले मतदाताको भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए । उनले भने, ‘मलाई चौथो पटक काठमाडौँ १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरूलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनासो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौँका नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । बागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरे । उनले भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरूको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेसमा जान्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरूसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’

प्रतिकृया दिनुहोस्