लेवानडोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड मेक्सिकोसँग निराश : अर्जेन्टिनालाई ठूलो राहत !

मंग्सिर ७, २०७९ बुधबार 181

लेवानडोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड मेक्सिकोसँग निराश : अर्जेन्टिनालाई ठूलो राहत !

टिमका कप्तान तथा स्टार स्ट्राइकर रोवर्ट लेवानडोस्कीले महत्त्वपूर्ण समयमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्यान्ड महत्त्वपूर्ण जितबाट चुकेको छ । समूह चरणको पहिलो खेलमा आज युरोपियन देश पोल्यान्ड र उत्तर अमेरिकी देश मेक्सिको समूह ‘सी’को दोस्रो तथा आफ्नो पहिलो खेलमा भिडेका थिए । स्टेडियमा ९७४ मा नेपाली समय अनुसार राति ९ः४५ बजेबाट सुरु भएको खेलमा लेवानडोस्कीले पेनाल्टीमा गोल गर्न नसक्दा पोल्यान्ड सम्भावित जितबाट चुक्यो । र, खेल गोलरहित ०–० मा सकियो ।यस समूहबाट आजै भएको पहिलो खेलमा दक्षिण अमेरिकी देश अर्जेन्टिनालाई एसियाली देश साउदी अरेबियाले नाटकीय रूपमा कमब्याक गर्दै २–१ ले हराएपछिको खेलमा पोल्यान्ड र मेक्सिको भिडेका थिए । यी दुवै टिमलाई स्पष्ट जित निकालेर अन्तिम १६ को ढोका खुला गर्ने अवसर थियो । तर, दुवैले गोलविहीन बराबरी खेल्दै अंक बाँड्न बाध्य भए । यो नतिजा साउदीसँग पराजित अर्जेन्टिनाका लागि भने राहतपूर्ण भएको छ । किनभने, यो बराबरीपछि साउदीपछि दोस्रो टिमले ३ अंक जोड्न पाएन । यो भनेको अर्जेन्टिनामाथि दबाब घट्नु हो ।यदि आज मेक्सिको र पोल्यान्ड मध्ये एक टिमले स्पष्ट जित निकालेको भए पहिलो खेलबाट दुई टिमका नाममा ३–३ अंक हुने थियो । र, अन्तिम २ खेल बलिया टिमसँग खेल्ने अर्जेन्टिनालाई थप दबाबपूर्ण हुने थियो । मेक्सिको र पोल्यान्डको बराबरी नतिजाबाट अर्जेन्टिनाले सबैभन्दा ठूलो राहतको सास फेरेको हुनुपर्छ । अब अन्तिम २ खेलमा अर्जेन्टिनामाथि जित्नैपर्ने दबाब हुनेछैन । तर, दोस्रो टिमको नतिजा पनि निर्णायक बन्न सक्छ । तर, दोस्रो खेलमा पनि अर्जेन्टिना पराजित भयो वा बराबरीमा रोकियो भने चैं ऊ समूह चरणबाटै आउट हुने खतरा थप बढ्नेछ । दोस्रो खेल हुँदा अर्जेन्टिना चर्को दबाबमा हुने पक्का छ ।

प्रतिकृया दिनुहोस्