शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट ‘टाप’, कहाँ पुगे ?

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो ।

 

उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो । त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने भ्याएनन् । बुढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेको छ । यस्तो बेला देउवा कहाँ गए भन्ने केहि बुझिएको छैन ।

 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

 

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

 

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।

 

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी ज्वालाकुमारी साह ढिला गरी शपथमा पुगेकी छन् ।

 

बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी हुन् ।

 

प्रधानमन्त्री प्रचण्डसहित ७ मन्त्रीले शपथ लिएपछि मात्रै उनी शीतल निवास पुगेकी थिइन् । ढिलागरी पुगेकी उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य मन्त्रीहरूले शपथ लिएपछि एक्लै शपथ गराएकी थिइन् ।

 

शीतल निवास स्रोतका अनुसार चर्को जामका कारण उनी निर्धारित समयमा शीतल निवास पुग्न नसकेकी हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *